अमेरिका–इजरायल र इरान युद्धका कारण प्रभावित भएको कतार एयरवेजको काठमाडौं–दोहा–काठमाडौं उडान पुन: सुरु हुने भएको छ । खाडीका देशमा युद्ध सुरु भएपछि कतार एयरवेजले पहिलोपटक काठमाडौं–दोहा उडान सुरु गर्न लागेको हो ।

एयरवेजले नयाँ तालिका सार्वजनिक गर्दै १६ र १७ मार्चमा दोहा–काठमाडौं एक/एक उडान तय गरेको छ । साथै १६, १७ र १८ मार्चमा काठमाडौंबाट दोहाका लागि एक/एक उडान तय गरेको सूचना सार्वजनिक गरेको छ ।

यसका साथै एयरवेजले केही पोइन्ट टु पोइन्ट उडान पनि सञ्चालन गर्ने र यस्ता उडानका लागि योग्य यात्रुलाई सिधै सम्पर्क गर्ने जनाएको छ ।

तर, यी उडानहरू पहिलेजस्तै सामान्य रूपमा सञ्चालन नभएको र यात्रुहरूको सहजताका लागि सावधानीका साथ सञ्चालन गर्ने तय गरिएको पनि एयरवेजले उल्लेख गरेको छ, जसबाट दोहा ट्रान्जिटमा रहेका नेपालीसहित कयौँ यात्रुलाई राहत पुग्नेछ ।

अमेरिका इजरायलले २८ फेब्रुअरीमा इरानमा आक्रमण गरेपछि सुरु भएको युद्ध अहिले पनि जारी छ । इरानले खाडीका देशहरूमा समेत आक्रमण गरिरहेको छ, जसका कारण २८ फेब्रअरीदेखि नै कतार एयरवेजको उडानहरू प्रभावित भएको थियो । कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा कतार एयरवेजका दुई विमान काठमाडौंमै रोकिएका थिए ।

खाडीका देशहरूमा युद्ध चर्किंदा अहिले यी देशका हवाई मार्गमा सतर्कता अपनाइएको छ । कयौँ उडानहरू रद्द भएका छन् भने केही उडानहरू मार्ग परिवर्तन गरेर सञ्चालन गरिरहेको अवस्था छ ।

एयरवेजले यात्रुहरूलाई आफ्नो उडान तालिकाबारे पछिल्लो जानकारीका लागि आधिकारिक वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्सीमार्फत नियमित रूपमा बुझ्न अनुरोध र आधिकारिक टिकट नभएसम्म विमानस्थल नआउन अनुरोध गरेको छ ।