रूसको दक्षिणी क्षेत्रमा पर्ने क्रास्नोडार क्षेत्रमा रहेको एक तेल केन्द्रमा आगलागी भएको छ । ड्रोनको भग्नावशेष खस्दा सो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । आइतबार भएको घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी सार्वजनिक गरिएको छ ।

अधिकारीहरूका अनुसार आकाशमै खसालिएको एक ड्रोनका टुक्रा तेल केन्द्रमा खस्दा आगलागी सुरु भएको थियो । प्रभावित तेल केन्द्र टिखोरेत्स्क नजिक रहेको बताइएको छ ।

उक्त क्षेत्र यसअघि पनि ड्रोन आक्रमणको निशानामा परेको थियो । गत बिहीबार युक्रेनी ड्रोनले टिखोरेत्स्कस्थित एक तेल पम्पिङ स्टेसनमा आक्रमण गरेका थिए। त्यसबेला लागेको आगो शुक्रबार मात्रै नियन्त्रणमा आएको थियो ।

पछिल्लो घटनामा क्षति पुगेको केन्द्र सोही स्थान हो वा फरक हो भन्नेबारे अधिकारीहरूले स्पष्ट पारेका छैनन् । टिखोरेत्स्क केन्द्र दक्षिणी रूसका सबैभन्दा ठुला तेल हबमध्ये एक मानिन्छ । यही केन्द्रबाट कृष्ण सागरको प्रमुख बन्दरगाह नोभोरोसिस्कतर्फ पेट्रोलियम पदार्थ आपूर्ति हुने मुख्य मार्ग रहेको छ।