ब्रिसबेन- अष्ट्रेलियाले होर्मुज जलडमरूमध्यमा आफ्ना युद्धपोत नपठाउने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध गरिरहेको उक्त मार्ग खुलाउन सहयोगी देशहरूसँग सहयोग मागिरहेका बेला अष्ट्रेलियाले यस्तो प्रतिक्रिया दिएको हो।
अष्ट्रेलियाकी यातायात मन्त्री क्याथेरिन किङले एबीसी रेडियोलाई दिएको अन्तर्वार्तामा अष्ट्रेलियाले आफ्नो योगदानबारे पहिले नै स्पष्ट गरिसकेको बताइन्।
उनले यूएईलाई सहयोग गर्न विमान उपलब्ध गराइँदै गरेको जानकारी दिँदै त्यस क्षेत्रमा धेरै अष्ट्रेलियाली नागरिक रहेको कारण यस्तो कदम चालिएको बताइन्।
उनले भनिन्, ‘तर हामी होर्मुज जलडमरूमध्यमा कुनै जहाज पठाउने छैनौं। यो मार्ग कति महत्वपूर्ण छ भन्ने हामीलाई थाहा छ। हामीलाई यस्तो गर्न भनिएको पनि छैन हामी यसमा सहभागी हुने छैनौं।’
ट्रम्पको दबाब
अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुज जलडमरूमध्य खुला राख्न अन्तर्राष्ट्रिय समर्थनका लागि अन्य देशहरूमाथि दबाब बढाइरहेका छन् ।
उनले अमेरिकाका सहयोगी राष्ट्रहरू खाडी क्षेत्रको तेलमा निर्भर रहेकाले युद्धपोत पठाउन दबाब दिएका हुन् । कतिपय अवस्थामा उनीहरूको निर्भरता अमेरिकाभन्दा पनि बढी रहेको भन्दै उनले यस्तो बताएका हुन् ।
ट्रम्पले नाटोकाका सहयोगीहरूलाई समर्थन नबढाए गठबन्धनको भविष्य कमजोर हुन सक्ने चेतावनी पनि दिएका छन्।
यस विषयमा उनले चीनलाई पनि सहभागी गराउने प्रयास गरेका छन्। यदि चीनले होर्मुज खुला राख्न प्रयास नबढाए उनले यसै महिनाको अन्त्यतिर चीनमा हुने एक शिखर सम्मेलनमा आफ्नो प्रस्तावित भ्रमण स्थगित गर्न सक्ने संकेत दिएका छन्।








