प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौँको सेवा प्रवाहस्थितिबारे प्रत्यक्ष अनुगमन गरेका छन्।
नागरिकले पाउने सरकारी सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयको आकस्मिक निरीक्षण गरेका हुन्।
अनुगमनका क्रममा प्रधानमन्त्री कार्कीले सेवाग्राहीका गुनासाहरू प्रत्यक्ष रूपमा सुन्नुका साथै त्यहाँ कार्यरत कर्मचारीहरूलाई छिटोछरितो र झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिइन्।
सोही अवसरमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रशासनको कामकारबाहीलाई थप पारदर्शी बनाउनुपर्नेमा जोड दिए। उनले सेवाग्राहीलाई दुःख दिने विचौलियाहरूको अन्त्य गर्न मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको र त्यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कडा कारबाही गरिने चेतावनी दिए।
पछिल्लो समय सरकारी कार्यालयहरूमा सेवा लिन जाँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको, लामो समय लाइनमा बस्नुपरेको र विचौलियाको बिगबिगी बढेको गुनासो व्यापक रूपमा उठ्दै आएको थियो।
यसै सन्दर्भमा राज्यको उच्च तहबाटै भएको यस प्रत्यक्ष अनुगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस कदमले कर्मचारीतन्त्रमा सुधार आउने, ढिलासुस्ती अन्त्य हुने र सर्वसाधारणले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ।








