कैलालीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म खक्रौलामा कार्यरत सिंगो टोलीलाई हेडक्वार्टर तानिएको छ । गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितका सशस्त्र प्रहरीलाई छानबिनका लागि हेडक्वार्टर तानिएको हो । यसअघि घटनापछि डीएसपीबाहेक त्यहाँ कार्यरत सबैलाई जिल्ला तान्ने निर्णय भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिग्विजय सुवेदीले गुल्ममा कार्यरत सबैलाई हेडक्वार्टरले तानेको जानकारी दिए । ‘घटनाको सयममा गुल्ममा कार्यरत सबैलाई हेडक्वार्टरले तानेको छ,’ उनले भने ।

हेडक्वार्टरले सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत डीएसपी देवराज विष्टलाई खक्रौला खटाएको छ भने उनी हाजिर हुँदासम्म सशस्त्र प्रहरी निरीक्षक सूर्यप्रकाश पन्तलाई निमित्त प्रमुखको जिम्मेवारी तोकिएको छ ।

मंगलबार अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेपछि बुधबार टीकापुर उद्योग वाणिज्य संघको सहभागितामा गुल्ममा छलफल भएको थियो । छलफलपछि डीएसपी पौडेलले ज्यादती गरेको र अपमानजनक भाषा बोलेको भन्दै गुल्मभित्रै पसेर स्थानीय व्यवसायीले पौडेलमाथि हातपात गरेका थिए । हातपातमा संलग्न रहेको आरोपमा टीकापुर नगरपालिका– ९ का रामबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ । अन्य पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको छानबिनका लागि ७ नम्बर बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।