काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत एपिएफ क्लबले बागमती प्रदेशलाई जितका लागि २७२ रनको लक्ष्य दिएको छ।

मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७१ रनको योगफल तयार पारेको हो।

उसका लागि आसिफ शेखले सर्वाधिक ११४ रनको योगदान दिए। उनले १४ चौका र तीन छक्का प्रहार गरे। सन्दीप जोराले ५२ रनको महत्वपूर्ण योगदान दिए भने लोकेश बमले २९, युवराज खत्रीले अविजित २६ र कप्तान रोहित पौडेलले नौ रन जोडे बागमतीका लागि रिजन ढकालले चार विकेट लिए।

साथै इसान पान्डेले दुई विकेट झारे। त्यस्तै सन्दीप लामिछाने र सोनु देबकोटाले समान एक/एक विकेट लिए। प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात ७ प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ।

शनिबारदेखि सुरु प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्।