अबको २ महिनापछि अर्थात् २०८३ जेठ पहिलो सातादेखि राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्दै छ । अहिले भइरहेको प्रणालीमार्फत नयाँ प्रणालीमा जाँदा राहदानी सेवा केही प्रभावित हुने भन्दै अबको ६ महिनाभित्र राहदानी नविरण गर्नु पर्ने वा नयाँ राहदानी आवश्यक पर्नेलाई आवेदन दिन विभागले सूचना जारी गरेको छ ।
अब नयाँ प्रणालीमार्फत प्रयोगकर्तालाई सहज हुनेगरी जारी गरिने विभागका महानिर्देशक तिर्थराज अर्यालले बताए । उनका अनुसार नयाँ प्रणालीका लागि आवश्यक मेसिन र सफ्टवेयर जडान भइसकेको छ । विभागले अहिले नयाँ प्रणालीमा परीक्षणको काम गरिरहेको छ ।
अति आवश्यक परेकालाई सेवा दिइने
नयाँ प्रणालीमा सबै परीक्षणको काम सकिएपछि आगामी जेठ पहिलोसातादेखि नयाँ प्रणालीमार्फत राहदानी जारी हुनेछ । पूरानो प्रणालीबाट नयाँ प्रणालीमा जाँदा तथ्याङ्क स्थानान्तरणको कारणले १ दिनदेखि १ हप्तासम्म राहदानी सेवा केही ढिलो वा प्रभावित हुन सक्ने सम्भावना रहेको विभागमा महानिर्देशक अर्यालले बताए ।
‘सेवामा केही ढिलाइ हुने हो । तर जारी नै नहुने र आत्तिन पर्ने अवस्था भने होइन’, उनले भने, ‘अति आवश्यक परेकाहरूलाई राहदानी सेवा त्यो बेलामा पनि दिइन्छ तर अहिले सहज भएका बेलामा आवश्यक छ भने बनाइराख्नुहोस् भनिएको हो ।’
नयाँ प्रणाली स्थिरीकरण नहुँदासम्म सीमित संख्यामा मात्रै राहदानी जारी हुने छ । आगामी असोजभित्र राहदानीको म्याद सकिने वा नयाँ चाहिनेले अहिले आवेदन दिँदा सहज रूपमा पाउने छन् । यस्तै विदेशमा रहेका नेपालीहरूलाई पनि डिसेम्बरभित्र राहदानीको अवधि सकिने भए अहिले नै नवीकरणका लागि आवेदन दिन त्यहाँ रहेका नेपाली दूतावासहरूले अनुरोध गरेका छन् ।
विदेशमा राहदानी प्रिन्ट भएर जान समय लाग्ने भएकाले पनि पहिले नै सतर्कता अपनाउन आग्रह गरिएको हो ।
अहिलेको राहदानीमा भन्दा फरक के हुन्छ ?
अहिलेको राहदानीको भन्दा अब नयाँ प्रणालीमार्फत जारी हुने राहदानीको पुस्तिकामा नै हेरफेर हुने छ । नयाँ प्रणालीमार्फत राहदानी जारी हुन थालेपछि विदेशमा रहेका नेपालीलाई ठूलो राहत मिल्ने छ । नयाँ प्रणाली सुरु भएपछि विदेशमा रहेका नेपाली नियोगहरूमा फोटो खिच्ने, बायोमेट्रिक्स दिने र अनलाइन आवेदनलाई थप सहज बनाइने छ ।
नयाँ सम्झौताअनुसार अहिलेसम्म ४८ सय थान नमुना राहदानी प्राप्त भइसकेको छ । थप ५ लाख राहदानी आपूर्ति हुने प्रक्रियामा रहेको छ ।
एक करोड ७१ लाख भन्दा धेरै राहदानी जारी
मेसिन रिडेबल पासपोर्ट(एमआरपी) जारी हुन थालेयता राहदानी विभागले अहिलेसम्म एक करोड ७१ लाख ३३ हजार ५०८ थान राहदानी जारी भएको छ । जसमध्ये ५५ लाख १६ हजार ३९८ विद्युतीय राहदानी र बाँकी एमआरपी पासपोर्ट जारी भएको हो ।
अहिले विभागसँग ३ लाख ९७ हजार ९९३ थान राहदानी मौज्दात छ । जसमध्ये ३ लाख ७५ हजार ७२५ थान साधारण अर्थात् ३४ पेजको राहदानी रहेको छ । यो मौज्दातले आगामी जेठसम्मको माग धान्ने अनुमान विभागको रहेको छ । त्यसपछि भने नयाँ प्रणालीमार्फत विदेशस्थित नेपाली नियोगका साथै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र राहदानी विभागबाट नयाँ प्रविधियुक्त राहदानी जारी हुने छ ।








