काठमाडौँ । रिसोर्टमा व्यवसायिक यौन गतिविधिको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा नक्कली सुन फेला परेको छ । चन्द्रनिगाहपुरस्थित जगत रिसोर्टबाट कारोबारमा संलग्न चार जना प्रहरी नियन्त्रणमा छन् ।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ घर भई हाल भारतको पश्चिम बंगाल दार्जिलिङ बस्ने अन्दाजी ३७ वर्षीय अशोक तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–१० का अन्दाजी ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का अन्दाजी ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँ बस्ने अन्दाजी ३० वर्षीय संजोक बस्नेत छन् ।
भारतबाट आएका व्यक्तिहरू बसोबास गर्ने गरेको र बदनियत तथा आपराधिक मनस्थितिका मानिसको आवतजावत बढेको सूचना प्रहरीमा पुगेको थियो। मंगलबार टोली त्यहाँ पुग्दा सुनचाँदीको अवैध कारोबार चलिरहेको चन्द्रनिगाहपुर प्रहरीस्रोतले जनाएको छ ।
सोही कोठाबाट चार जना पुरुषलाई नियन्त्रणमा लिई शरीर तथा कोठा खानतलासी गर्दा नक्कली सुनजस्तो देखिने धातु बरामद गरिएको जिल्ला प्रहरीले जनाएको छ ।
सिलबन्दी अवस्थामा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९ दशमलव ९’ लेखिएको प्याकसहित पहेँलो रंगको नक्कली सुनजस्तो धातु ४ थान, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको अवस्थामा २ थान गरी जम्मा ७ थान बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी घटनास्थलबाट मोबाइल फोन ६ थान र ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबिनजस्तो देखिने मेसिन १ थान समेत बरामद जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।








