इटहरी । इटहरी उपमहानगरपालिकाका लागि नयाँ दमकल खरिद गर्न जनस्तरबाट अभियान सुरु गरिएको छ। युवा व्यवसायी समिर कार्कीले पहल गर्दै इटहरीलाई दमकल किनेर दिने अभियान घोषणा गरेका हुन्।

केही समय अघि भएको जेन्जी आन्दोलनका क्रममा इटहरीमा रहेको दमकल जलाईएपछि उपमहानगरपालिका हालसम्म दमकलविहीन अवस्थामै रहेको छ। लामो समय बितिसक्दा पनि नयाँ दमकल खरिद गर्न नसकेको भन्दै स्थानीय स्तरमा चासो बढ्दै गएको छ।

यही अवस्थालाई मध्यनजर गर्दै कार्कीले जनसहभागिताबाट दमकल खरिद गर्ने अभियान सुरु गरेको बताए। ‘ईटहरी जस्तो बढ्दो शहरमा दमकल नहुनु अत्यन्तै जोखिमपूर्ण अवस्था हो। कुनै पनि विपद् वा आगलागीको घटनामा तुरुन्तै सेवा दिन सक्ने व्यवस्था आवश्यक छ,’ उनले भने।

कार्कीका अनुसार अभियानमार्फत स्थानीय व्यवसायी, सामाजिक संघ–संस्था र सर्वसाधारणको सहयोग जुटाएर दमकल खरिद गर्ने लक्ष्य राखिएको छ। यसका लागि चाँडै नै अभियानको कार्ययोजना सार्वजनिक गरिने पनि उनले जानकारी दिए।

स्थानीयवासीहरूले पनि शहरको सुरक्षाका लागि यस्तो पहल सकारात्मक भएको बताएका छन्। उनीहरूका अनुसार नगरमा आगलागी जस्ता घटनामा छिटो उद्धार र नियन्त्रणका लागि दमकल अत्यन्तै आवश्यक साधन हो। यस अभियानले ईटहरीमा सामुदायिक सहयोग र जिम्मेवारीको भावना बढाउने अपेक्षा गरिएको छ।