काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वसभापति किशोर नेपालले यो संगठनलाई कुनै पनि राजनीतिक दलको शाखा वा प्रचार विभागका रूपमा प्रयोग नगर्न आग्रह गरेका छन् । महासंघको स्थापना र विकासमा महत्त्वपूर्ण भूमिका खेलेका नेपालले पछिल्लो समय पत्रकारितामा बढ्दो राजनीतिकरण र घट्दो गुणस्तरप्रति चिन्ता व्यक्त गरेका हुन् ।
सोमबार (चैत १६) पत्रकार महासंघको स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रममा उनले यसभित्र वैचारिक विविधता हुनु स्वाभाविक भएको बताए । तर, पछिल्लो समय यो संस्था विभिन्न राजनीतिक दल र गुटहरूको अंगजस्तो बन्नु दुःखद रहेको उनले टिप्पणी गरे ।
“मलाई के लागिरहेको छ अहिले भन्दाखेरि, हामी इन्डिपेन्डेन्ट छैनौँ । हामी स्वतन्त्रताको कुरा गर्छौं, तर हामी स्वतन्त्र छैनौँ,” उनले भने, “हामीलाई आफ्नो मानसिकताले अरूअरू आवश्यकताहरूले बाँधिराखेको छ ।”
पूर्वसभापति नेपालले राजनीतिले पत्रकारितालाई कहिल्यै ‘डोमिनेट’ गर्न नहुनेमा जोड दिए । पत्रकारिताले राजनीतिलाई मार्गनिर्देश गर्नुपर्ने उनले बताए ।
“…हामीले पत्रकारमुखी होइन, राजनीतिमुखी कार्यक्रम बढी गरिरहेका छौँ । यो कुरामा साथीहरू सजग हुनुपर्छ,” उनले भने, “राजनीतिले पत्रकारितालाई कहिल्यै पनि डोमिनेट गर्नु हुँदैन । पत्रकारिताले राजनीतिलाई मार्गनिर्देशन गर्नुपर्छ ।”
हाल सामाजिक सञ्जालको युगमा पत्रकारिताको शैलीलाई ‘रिभ्यु’ र ‘रिभिजन’ गर्ने बेला आएको उनले बताए । पत्रकारको वृत्तिविकास, छात्रवृत्ति र क्षमता अभिवृद्धिमा महासंघले ध्यान दिनुपर्ने उनले सुझाव दिए ।








