सुर्खेत । बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा प्रकरणले नयाँ मोड लिएको छ । यसअघि प्रहरीले सामूहिक बलात्कार नभएको निष्कर्षसहित एकजनालाई मुख्य दोषी करार गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो ।
वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले उनलाई तत्काल कर्णाली प्रदेश अस्पताल पुर्याएको भए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।
घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पक्राउ परेका किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तश्राव भई बेहोस भएको बयान दिएका थिए । यसै घटनामा संलग्न रहेको आशंकामा अन्य तीनजनालाई समेत पक्राउ गरिएको थियो ।
तर, सरकारी वकिल कार्यालयले भने आइतबार सामूहिक बलात्कार भएको भन्दै चारैजना नाबालकविरुद्ध मुद्दा चलाउने गरी अभियोगपत्र जिल्ला अदालतमा पेस गरेको छ ।
इनिशा विक हत्या प्रकरण : प्रहरीले टुंग्यायो अनुसन्धान, घटनामा एकजना मुख्य आरोपी र तीनजना सहयोगी
यसैबीच जिल्ला अदालत सुर्खेतअगाडि पीडित परिवार र अधिकारकर्मीले इनिशाको न्याय माग गर्दै आइतबारदेखि निरन्तर धर्ना दिइरहेका छन् । सोमबार अन्य तीन नाबालकका आफन्त पनि आन्दोलित बनेका छन् ।
तीन नाबालकका आफन्तहरूले घटनापछि सार्वजनिक भएका सामग्री र सामाजिक सञ्जालमा फैलिएका कुराले आफूहरूलाई दोषी ठहर गर्ने प्रयास भएको गुनासो गरे । उनीहरूले जात, धर्म वा समुदायका आधारमा नभई वैज्ञानिक र तथ्यमा आधारित अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी, केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)लगायत निकायले आधुनिक प्रविधि प्रयोग गरेर अनुसन्धान गरिसकेको र विभिन्न प्रमाण संकलन गरिएको भन्दै सीसीटीभी फुटेज, संवाद र अन्य डिजिटल प्रमाणको सूक्ष्म अध्ययनपछि तयार गरिएको प्रतिवेदन पारदर्शी हुनुपर्ने उनीहरूको माग छ ।
ती नाबालकका आफन्तले सरकारी वकिल कार्यालयले दबाबमा परेर निर्दोषलाई दोषी करार गर्ने प्रयास गरेको आरोप लगाउँदै यस्तो कार्यले कानुनी राज्यको उपहास भएको बताएका छन् ।
“हामी दोषी होइनौँ, निर्दोषलाई फसाउन खोजिएको छ,” नाबालकका परिवारले भने, “सत्यतथ्यका आधारमा न्याय मिल्नुपर्छ ।”







