काठमाडौं । इरानका मसुद पेजेस्कियानले अमेरिकी जनताका नाममा भावुक खुलापत्र लेखेका छन् ।

पत्रमा उनले इरानविरुद्ध जारी सैन्य अभियानलाई तर्कहीन र खर्चिलो करार दिएका छन् । पेजेस्कियानले आफ्नो पत्रको सुरुवात ती अमेरिकी नागरिकहरूलाई सम्बोधन गर्दै गरेका छन्, जो झुटो भाष्य र विकृतिहरूका बीच सत्यको खोजी गरिरहेका छन् ।

साथै, उनले इरानी जनताको अमेरिका, युरोप वा छिमेकी देशका जनतासँग कुनै शत्रुता नभएको स्पष्ट पारेका छन् ।

राष्ट्रपति पेजेस्कियानले पत्रमा तिखा प्रश्न उठाउँदै इजरायलले अमेरिकालाई यो जबर्जस्ती युद्धमा घिसारेको आरोप लगाएका छन् । उनले प्रतिप्रश्न गर्दै भनेका छन्, “के अमेरिका यो युद्धमा इजरायलको प्रतिनिधिका रूपमा उत्रिएको र इजरायली शासन सत्ताद्वारा गरिएको षड्यन्त्रको सिकार भएको सत्य होइन र ? के अमेरिकी सरकारको प्राथमिकतामा ‘अमेरिका पहिलो’ छ त ?”

पेजेस्कियानले चेतावनी दिँदै विश्व आज एउटा निर्णायक मोडमा उभिएको र टकरावको बाटो पहिलेको भन्दा धेरै आत्मघाती र निरर्थक भएको बताएका छन् । उनले पत्रमा टकराव र सहकार्यबीचको छनोटले आउने पुस्ताको भविष्य तय गर्ने उल्लेख गरेका छन् ।

उक्त पत्रमा इरानी राष्ट्रपतिले अमेरिकासँगको कुनै पनि वार्ताबारे उल्लेख गरेका छैनन् । साथै, ट्रम्पले इरान आफैँले अमेरिकासँग युद्धविरामको माग गरेको भन्ने दाबीबारे पनि केही बताएका छैनन् । इरानी विदेश मन्त्रालयले ट्रम्पको उक्त दाबीलाई यसअघि नै पूर्ण रूपमा खारेज गरिसकेको छ ।