खुला प्रतिस्पर्धाबाट पदाधिकारी छनोट गर्ने प्रक्रिया अघि बढाएको सरकारले लुम्बिनी विकास कोषको सदस्यसचिवमा आवेदन नै नदिएका व्यक्तिलाई नियुक्त गरेको पाइएको छ । भौतिक पूर्वाधार मन्त्री सुनील लम्सालका प्रमुख सल्लाहकार सन्तोष पाण्डेयलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको सदस्यसचिव नियुक्त गरेको हो।

सरकारले यसअघि लुम्बिनी विकास कोषका विभिन्न पदमा इच्छुक र योग्य व्यक्तिबाट आवेदन माग गरेको थियो। खुला प्रतिस्पर्धामार्फत सार्वजनिक पदमा जिम्मेवारी दिने सरकारी पहलको प्रशंसा पनि भएको थियो। तर नियुक्तिको समयमा प्रतिस्पर्धामा सहभागी नभएका तथा मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक रोस्टर सूचीमा समेत नाम नरहेका व्यक्तिलाई जिम्मेवारी दिइएपछि सरकारको छनोट प्रक्रियामाथि आलोचना सुरु भएको छ।