अर्घाखाँची, २३ कात्तिक — नेवार समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पुस्तौँदेखिको परम्परासँग जोडिएको भैरव नाच अर्घाखाँचीको मौलिक सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। परम्परागत बाजाको गुञ्जन, आकर्षक भेषभूषा, सात तालको विशिष्ट लय र धार्मिक विधिसहित प्रस्तुत हुने यो नाचले जिल्लाको सांस्कृतिक विविधता र सामाजिक सद्भावलाई समेत उजागर गर्दै आएको छ ।
अर्घाखाँचीका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले यो परम्परा पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। सन्धिखर्क नगरपालिका–१ को पटुवाथुम, वडा नम्बर १२ को डिभर्ना तथा भूमिकास्थान नगरपालिका–८ को नुवाकोट र लात्तेबाँजमा फरकफरक वर्षमा भैरव नाच प्रदर्शन गर्ने चलन छ। यस वर्ष भूमिकास्थान–८ को नुवाकोट भैरव समाजले नाच प्रदर्शन गरेको छ। नेवा समाज अर्घाखाँची–रुपन्देहीले बुटवलमा पनि यसको प्रस्तुति दिएको छ। दुवै समाजले सन्धिखर्कलगायत विभिन्न स्थानमा नाच देखाएका छन् ।








