चितवन, कात्तिक १७–
देशको मध्यभागमा रहेको चितवनलाई आर्थिक राजधानी बनाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घोषणा गरेको छ ।
आज (बिहीबार) काठमाडौंँमा आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि वाचापत्र सार्वजनिक गर्दै रास्वपाले चितवनलाई आर्थिक राजधानी बनाउने वाचा गरेको हो । रास्वपाले चितवनलाई प्राथमिकता दिँदै वाचापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति रवि लामिछाने चितवन क्षेत्र नं.२ बाट निर्वाचन लड्दैछन् । उनी चितवनमा घरदैलो अभियानलाई समेत तिव्रता बनाउँदै लगेका छन् ।
पार्टीको वाचापत्रमा भनिएको छ, ‘चितवनलाई नेपालको आर्थिक राजधानी बनाउन चाहिने कानुनी प्रावधान, लगानी, जनशक्ति,ऊर्जा आदि विभिन्न पक्षहरूलाई उच्च प्राथमिकता दिई काम गरिनेछ ।’
त्यसका लागि जोनिङ पद्धतिमार्फत चितवन सहरी योजनाको सुरुवात गरिने रास्वपाले जनाएको छ ।यस्तै हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने रास्वपाले जनाएको छ ।