बागलुङ, पर्वत, तनहुँ — मतदानका लागि खटिएका कर्मचारी शुक्रबारदेखि नै केन्द्र निर्माणमा खटिएका छन् । अधिकांश कर्मचारीले यो पटक मतपेटिका व्यवस्थापन प्रमुख चुनौतीका रूपमा देखिएको बताए । सदरमुकामका विद्यालयदेखि ग्रामीण तहसम्म पनि यो समस्या बढी देखिएको हो ।
गत स्थानीय निर्वाचनमा ३ वटा बाकस राखिएको स्थानमा यो पटक १२ वटा राख्नुपर्ने भएपछि कर्मचारीको टाउको दुखाइ भएको हो । ‘कर्मचारी थोरै, मतदानस्थल साँघुरो तर धेरै बाकस राख्नुपर्ने बाध्यता भयो,’ काठेखोला–६ को अमृतपानी मतदान केन्द्रका अधिकृत डिल्ली आचार्यले भने, ‘प्राविधिक समस्याले निर्वाचन सक्न रातिसम्म लाग्ने देखियो ।’ सानो मैदान भएको स्थानमा धेरै बाकस मिलाएर राख्नै सास्ती भइरहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालसहितको सुरक्षा टोलीले पनि यसअघि गरेको अनुगमनमा मतदानस्थलको व्यवस्थापन नै प्रमुख चुनौती भएको ठहर गरेको थियो । निर्वाचन बहिस्कार गर्ने दुई समूह बागलुङमा सक्रिय छन् । नेकपा मसालबाट फुटेको एक समूह, नेकपा बहुमत समेतले बहिस्कारको नारा लगाएका छन् । केही दिनअघि दुवै समूहका कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूबाट हुन सक्ने अवरोधप्रतिसमेत सचेत बन्नुपरेको मतदान अधिकृतले बताए । सुरक्षा संवेदनशीलता रहेको स्थानमा नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको सुरक्षा घेरा दिने गरी व्यवस्थापन मिलाइएको ढकालले बताए ।
शुक्रबार सबै मतदान केन्द्रमा सर्वदलीय बैठक र सहमति भएका छन् । केही केन्द्रमा तारजालीसमेत लगाइसकिएको छ । अधिकांशले शनिबार बिहानका लागि तारजाली लगाएर बाकस राख्ने योजना सुनाए । ‘सबै काम सकियो, शनिवार तारजाली लगाउने भनेका छौं,’ बालमन्दिर मतदान केन्द्रका अधिकृत कुश्मराज उपाध्यायले भने, ‘स्थानीय निर्वाचनमा भन्दा बढी मतपेटिका हुने भएकोले आउने र जाने दुइवटा गेट बनाएका छौं ।’ बागलुङका १ सय ६ मतदानस्थलमध्ये आधाभन्दा बढी भौगोलिक रूपमा कठिनाइ भएका स्थान छन् भने सदरमुकाममै पनि सुरक्षा संवेदनशीलता हुन सक्ने ढकालले बताए ।
‘सुरक्षा संवेदनशीलताका क्षेत्र घटबढ भइरहने भएकाले यो क्षेत्र सुरक्षित, यो असुरक्षित हो भन्न मिल्दैन,’ उनले भने, ‘भौगोलिक जटिलता भएका स्थानमा केन्द्र निर्माणमै समस्या आइरहेको छ ।’ उनले मतपेटिका ढुवानीलाई समेत गम्भीर रूपमा लिएर सुरक्षा व्यवस्थापन गरिएको बताए ।
‘बिहीबार बेलुका पुगेर मतदानस्थलको व्यवस्थापन गर्ने काम भइरहेको छ,’ दुर्गम पैयुँ गाउँपालिका–५ को वडा कार्यालयमा खटिएका मतदान अधिकृत रमेश पौडेलले भने, ‘मतदानस्थलको व्यवस्थापन पनि भएकाले शुक्रबार र शनिबार सबै काम सक्नुपर्नेछ ।’
यसपटक सम्भव हुनेजति सबै मतदान केन्द्र र मतदानस्थल अपांगमैत्री हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा खटिएका कर्मचारीले बिहीबार साँझ नै मतदान केन्द्रमा पुगेर मतदान क्षेत्रको चार किल्ला तोक्ने, स्थिर समयमा निषेधित वस्तुहरू रोक्न सार्वजनिक सूचना टाँस्नेलगायतका तयारी गरिसकिएका छन् । बाँकी रहेका मतदाता परिचयपत्र वितरण, मतदाता शिक्षा र मतदानस्थलको निर्माणमा समेत कर्मचारी जुटिसकेका छन् । आइतबारको निर्वाचनका लागि शनिबार बेलुकासम्म सबै तयारी पूरा गरिने निर्वाचन कर्मचारीले बताए । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि मतदान केन्द्रको संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताए ।
तनहुँमा सकियो तयारी
जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री र सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘बिहीबार नै सबै कर्मचारी आवश्यक सामग्रीसहित मतदान केन्द्रमा पुगिसकेका छन्’, जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले भने, ‘अहिले केन्द्र निर्माण र मतगणना स्थल बनाउने कार्य भइरहेको छ । शनिबारसम्म डोरी र तारबारासहित केन्द्र र मतगणनास्थल तयार हुनेछन् ।








