बालेन साहलाई घेराबन्दीमा पारिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्वतन्त्रहरू एकताबद्ध हुने बेला आएको बताएका छन् । काठमाडौं महानरपालिकाका मेयर साहले सुकुमबासी बस्ती उठाउन खोजेपछि भएको आलोचनालाई साम्पाङले घेराबन्दीको रूपमा अर्थ्याएका छन् । अरुले साथ दिए पनि नदिए पनि आफूले बालेनलाई साथ दिने साम्पाङको भनाइ छ ।
साम्पाङले फेसबुकमा यस्ताे लेखेका छन्- कथाले माग्यो अब, स्वतन्त्रहरू एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन साहलाई जुन किसिमले घेरा बन्दीमा पारिएको छ, त्यो निन्दनीय छ ! यो बेला अरुले साथ देऊन् नदेऊन् तर मेरो साथ रहनेछ ।
साम्पाङ र साह लौरो चुनाव चिन्हबाट स्वतन्त्र उठेर जितेका मेयर हुन् । केही महिनाअघि काठमाडौंको फोहोर व्यवस्थापनलाई लिएर साम्पाङ र साहबीच छेडछाड भएको थियो ।








