काठमाडाैँ – महाकाली नदीकाे अतिक्रमणविरुद्ध नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विराेध प्रदर्शन गरेकाे छ।

क्रान्तिकारी विद्यार्थीले बुधबार लैनचाैरस्थित भारतीय दूतावासकाे कार्यालय अगाडि पुगेर विराेध प्रदर्शन गरेका हुन्।

महाकाली नदीकाे अतिक्रमणसँगै दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई आफूलाई असह्य भएकाे भन्दै त्यसका प्रतिकारमा उत्रिएकाे प्रदर्शनकारीहरूले बताएका छन्।

सरकारले हिजाे मंगलबार मात्रै महाकाली नदी अतिक्रमण र दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भएको ज्यादतीलाई लिएर भारतलाई कूटनीतिक नोट पठाएको छ।

एक वर्षयता भारतीय पक्षले उत्तराखण्डको धार्चुलातर्फबाट सीमानदी महाकालीलाई नेपाली भूमितर्फ धकेल्ने गरी तटबन्ध बनाइरहेको छ।

उक्त तटबन्धनको विरोधमा उत्रिएका दार्चुलास्थित नेपाली नागरिकहरुमाथि भारतीय पक्षले लगातार आक्रमण गरिरहेपछि परराष्ट्र मन्त्रालयले मंगलबार कूटनीतिक नोट पठाएको हो।