कतारको खालिफा अन्तर्राष्ट्रिय रंगशालामा आज राति ८:४५ बजे क्रोएशिया र मोरोक्कोको खेल हुनेछ। सन् १९७६ मै सञ्चालन भएको यो रंगशालाको क्षमता ४५ हजार ४१६ दर्शक अटाउने रहेको छ।
सेमिफाइनलमा क्रोएशिया अर्जेन्टिनासँग र मोरोक्को फ्रान्ससँग पराजित भएको थियो। दुवै टोली दोस्रो पटक विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि लिग चरणमा समूह ‘एफ’मा रहेका दुवै टोलीले गोलरहीत बराबरी खेलेका थिए।
यसअघि अफ्रिकी टोलीसँग भएका तीन वटा खेलमा क्रोएशियाले हार बेहोर्नु परेको छैन। क्रोएशियाले सन् २०१४ मा क्यामरुनलाई ४-० गोल अन्तरले र सन् २०१८ मा नाइजेरियालाई २-० गोल अन्तरले हराएको थियो भने जारी विश्वकपमा मोरोक्कोसँग गोलरहीत बराबरी खेलेको थियो।
क्रोएशिया दोस्रो पटक तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि सन् १९९८ को विश्वकपमा क्रोएशियाले नेदरल्यान्डस्लाई २-१ गोल अन्तरले पराजित गरेको थियो।
मोरोक्को भने पहिलो पटक तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न लागेको हो। विश्वपकमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने मोरोक्को पहिलो अफ्रिकी टोली हो।
तेस्रो हुने टोलीले २७ मिलियन डलर र चौथो हुने टोलीले २५ मिलियन डलर पाउनेछ। त्यस्तै विश्वकप विजेतालाई भने ४२ मिलियन डलर र उपविजेता टोलीलाई ३० मिलियन डलर नगद पुरस्कार प्रदान गरिनेछ








