काठमाण्डाैँ,

तनहुँ म्याग्दे गाँउपालिका २ मा खानेपानीकाे ट्याङ्किमा शव फेला परेकाे छ। पृथ्वी राजमार्गको मनहरी नजिकै रहेको मनहरी पीपलटार खानेपानीको ट्याङ्कीमा आज आइतवार बिहान शव भेटिएको हो ।उपभाेक्ता समितिका सचिव चन्द्रकुमार मल्लका अनुसार दुइ तिन अगाडी देखी घरघरमा वितरण गरेकाे धाराबाट आएको पानीमा गन्ध आएको  उपभाेक्ताकाे गुनासाे पछि खानेपानि उपभाेक्ता समितिले टयाङ्कि खाेलेर हेर्दा शव फेला परेकाे हाे।

पृथ्वी राजमार्ग विस्तारका क्रममा सडक छेउका पानीका पाइप पटक–पटक काटिने गरेकाले त्यही कारण पानी धमिलो आएको हो कि भन्ने शङ्का आफूलाई भएको उहाँले बताउनुभयो । ‘दैनिकजसो पाइप काटिन्छ, त्यसैले पानीमा केही गन्ध आयो कि भन्ने लागेको थियो, तर अलि बढी नै भएपछि ट्याङ्की हेरौँ न त भनेर आज ढकन खोलेर हेर्दा शव देखेपछि हामी नै झसङ्ग भयौँ’, मल्लले भन्नुभयो ।

उहाँले त्यो शव कसको हो भन्ने खुलिनसकेको र हत्या गरेर फालेको हुनसक्ने देखिएको जानकारी दिनुभयो । ‘ढक्कन खोल्दा सुरुमा कपालजस्तो देख्यौँ, पछि कपडा पनि देख्यौँ, तत्कालै प्रहरीलाई खबर गरेर बोलायौँ’, उहाँले भन्नुभयो । उपभोक्ता समितिले मनहरिका एक सय ३८ घरधुरीमा पानी वितरण गर्दै आएको छ ।

पानी ट्याङ्कीमा शव फेला परेको जानकारी दिँदै अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताउनुभयो ।