काठमाण्डाैँ,

नेपाल कांग्रेसका सांसद गगन थापाले तत्काल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले काठमाडौंका मेयर शाहसँग वार्ता गरेर फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका हुन् । यसअघि शनिबार मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउन निर्देशन दिएका थिए । बालेनको निर्देशनपछि सिंहदरबारभित्रको फोहोर काठमाडौं महानगरपालिकाले उठाएको छैन ।

सांसद थापाले मेयर बालेनका जायजमा पूरा गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे । ‘कुनै बिलम्ब नगरी काठमाडौं महानगरसँग संवाद गर्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्छु । जुन-जुन विषय अहिले सल्टाउनु पर्ने हो सल्टाइयोस्,  जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो, गरियोस् । जायज माग पूरा गरियोस्। यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’ उनले भने

‘बागदरबार र सिंहदरबारबीच टकराब देखिएको छ । काठमाडौं महानगरले फोहोर नउठाउने भनेको छ । स्थानीय तहको प्रमुखले आफ्नो असहमति प्रकट गर्दैगर्दा अत्यावश्यक सेवा अवरोध गरेर आफ्नो माग सुनुवाइ गर्ने शैली, प्रयोग भएको भाषा, लवज ठीक वा बेठीक त्यसका विषयमा बहस हुन सक्ला, बहस गरौँला,’ उनले भने,’ तर, अहिले जायज माग पूरा गर्न वार्ता गरियोस् ।’