काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ १६१ स्थानमा मतगणना भइरहँदा चारवटा निर्वाचन क्षेत्रमा भने अझै गणना सुरु हुन सकेको छैन।
भौगोलिक विकटता र मौसमको खराबीका कारण दुर्गम क्षेत्रबाट मतपेटिका ल्याउन ढिलाइ भएपछि ती क्षेत्रमा गणना रोकिएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार संखुवासभा १, गोरखा १, मुगु १ र धनुषा १ मा अहिलेसम्म मतगणना प्रारम्भ हुन सकेको छैन।
संखुवासभामा सबै मतपेटिका संकलन भइसकेकाले सर्वदलीय बैठक बसेर केही समयमै गणना सुरु गर्ने तयारी गरिएको छ। गोरखा क्षेत्र नम्बर १ मा पनि दुर्गम क्षेत्रका मतपेटिकाहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत सदरमुकाम पुर्याइएको छ। यस्तै, मुगुमा पनि मतपेटिका संकलन हुनेबित्तिकै गणना प्रक्रिया अघि बढाउने निर्वाचन कार्यालयले जनाएको छ।
धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा भने मतगणनाका विषयमा दलहरूबीच सहमति जुट्न बाँकी रहेकाले ढिलाइ भएको हो। त्यहाँ अहिले सर्वदलीय सहमति खोज्ने प्रयास भइरहेको र केही समयमै गणना सुरु हुने अपेक्षा गरिएको छ। देशभरका अधिकांश क्षेत्रको नतिजा आउने क्रम जारी रहे पनि यी चार क्षेत्रको ढिलाइले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने देखिएको छ।







