काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत सडकपेटी आश्रित दृष्टिविहीन नागरिकहरूले बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा प्रदर्शन गरेका छन् ।आन्दोलनरत समूह आफ्ना समस्या र मागबारे पार्टी सभापति रवि लामिछानेलाई प्रत्यक्ष जानकारी गराउन कार्यालय पुगेको थियो । तर लामिछानेलाई भेट्न नपाएपछि उनीहरूले कार्यालय परिसरमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा केही आन्दोलनकारी सभापतिलाई खोज्दै कार्यालयभित्र प्रवेश गर्न खोजेपछि सुरक्षामा खटिएका प्रहरीले उनीहरूलाई रोकेको थियो ।प्रदर्शनकारीहरूले सुरक्षाकर्मीले सभापतिलाई भेट्न पाइने भन्दै आफूहरूलाई झुक्याएको आरोप लगाएका छन् । उनीहरूका अनुसार सडकपेटीलाई जीविकोपार्जनको माध्यम बनाएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिमाथि काठमाडौं महानगरपालिका लगायत विभिन्न निकायले बलपूर्वक हटाउने र धरपकड गर्ने कार्य गरिरहेको छ ।
आन्दोलनरत पक्षले सरकारले दृष्टिविहीन नागरिकको गाँस, बास र कपासको सुनिश्चितता गर्न नसकेको तथा जीविकोपार्जनका लागि सडकमा व्यापार गर्नसमेत अवरोध सिर्जना गरिएको भन्दै त्यसको अन्त्य गर्न माग गरेको छ ।उनीहरूले आफ्ना मागप्रति राजनीतिक दल र सरकार गम्भीर बन्नुपर्ने भन्दै समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेका छन् ।








