कृषि, वन तथा पर्यावरण मन्त्रालयले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको नोक्सानीको मूल्यांकन भइरहेको जनाएको छ। सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले भोटेकोशी बाढीका कारण भएको नोक्सानीको ४-५ वटा शीर्षकमा वर्गीकरण गरेर मूल्यांकन भइरहेको जानकारी दिएका हुन्।

बाढीका कारण बालीनालीको नोक्सानीको मूल्यांकन राष्ट्रिय योजना आयोगकै प्रतिवेदनमा समेटिने उनले बताए। त्यस्तै उनले पशुपन्छीको क्षेत्रमा भएका नोक्सानीबारे किसान सूचीकरणको तथ्यांकका आधार र व्यावसायिक फार्महरूको नोक्सानीको विवरणका आधारमा मूल्यांकन भइरहेको बताए।