रामायण सनातन संस्कृतिको केन्द्रमा रहेको महाकाव्य हो । यसलाई सफलतापूर्वक पर्दामा उतार्नु ठूलै चुनौती हो । विभिन्न कालखण्डमा टेलिभिजन र ठूलो पर्दामा रामायण कथाका अनेकौं रूपान्तरण भइसकेका छन् । तीमध्ये रामानन्द सागरको धारावाहिक र जापानी एनिमेसन बढी रुचाइएका छन् ।

विश्वविख्यात भिजुअल इफेक्ट्स कम्पनी ‘डीनेग’ का प्रमुखसमेत रहेका नमित मल्होत्राको लगानी र संलग्नताका कारण यसपटक विश्वस्तरीय ‘रामायण’ हेर्न पाइने अपेक्षा सर्वसाधारणदेखि चलचित्र समीक्षकसम्मले गरेका थिए । त्यो अपेक्षामा खरो उत्रिने गरी यो चलचित्र प्राविधिक भव्यता, विशाल दृश्य संरचना र हिन्दी चलचित्रमा अभूतपूर्व भीएफएक्सको संयोजनमा अब्बल छ । तर, यति ठूलो आवरणको भित्री तहमा पुग्दा यसले आफ्नो मूल सार अर्थात् आत्मीय भावनात्मक गहिराइलाई भने कतै न कतै गुमाएको भान हुन्छ ।