कानुनका किताब, कलेजका कक्षा र कार्यालयको व्यस्तता । सामान्यतया विद्यार्थी जीवनको दैनिकी यस्तै हुन्छ । तर दाङको तुलसीपुरका दुई युवतीले यो दैनिकीभित्रै एउटा फरक सपना रोपे । पढाइसँगै केही उत्पादन गर्ने, आफ्नै मेहनतले आम्दानी गर्ने र परिवारमाथिको आर्थिक निर्भरता घटाउने । यही सोचले उनीहरूलाई आठ कट्ठा खेतमा सयपत्री फूल खेतीसम्म पुर्याएको छ ।
तुलसीपुर उपमहानगरपालिका–८ अस्वारामा अविना गिरी र रोशना बस्नेतले दुई अन्य युवाको सहकार्यमा सुरु गरेको फूल खेती अहिले तिहारको आकर्षण बनेको छ । तुलसीपुरस्थित मेट्रो कलेजमा कानुन संकाय अध्ययनरत २२ वर्षीया अविना गिरी र २४ वर्षीया रोशना बस्नेतले पढाइ र कार्यालयको कामबाट बचेको समयलाई उत्पादनमूलक काममा लगाउँदै सयपत्री खेती गरेका हुन् ।








