तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका किसानलाई यस वर्ष सयपत्री फूल बिक्री गर्न बजार खोज्दै भौँतारिनुपरेन । बारीमै फूल किन्न आउने ग्राहकको घुइँचो लागेपछि किसानलाई फूल बिक्रीको चिन्ता भएन । आफूले उत्पादन गरेको फूल बारीबाटै बिक्री भएपछि किसान उत्साहित छन् ।

छिम्लीश्वारा चण्डेनी फलफूल तथा तरकारी उत्पादक कृषक समूहमा आबद्ध २३ महिलाले सामूहिक रूपमा गरेको सयपत्री फूलखेतीले यस वर्ष राम्रो बजार पायो । समूहले १६ रोपनी क्षेत्रफलमा लगाएको सयपत्री फूलमध्ये तिहारमा मात्रै दुई हजार ७६० किलो बिक्री भइसकेको छ । फुलेका फूल सबै बिक्री भएपछि किसानमा उत्साह थपिएको समूहकी अध्यक्ष जितमाया रानाले बताइन् ।