नेपाली फिल्मको घरेलु बक्स अफिसमा अहिले रोचक अन्तर देखिएको छ । गत शुक्रबारदेखि प्रदर्शनमा आएका दुई फिल्म ‘जलाकी’ र ‘हिमालयन गोल्ड’ ले दर्शकको साथ पाउन संघर्ष गरिरहेका छन् भने ‘बाटुलो जुन’ ले भने लगातार राम्रो व्यापार गरिरहेको छ ।
अशोक थापा मगर निर्देशित फिल्म ‘जलाकी’ ले प्रदर्शनको चार दिनमा २३ लाख रुपैयाँ मात्रै कमाएको छ । मङ्सिर ७ गतेसम्म फिल्मका ६ हजार ६२२ वटा टिकट बिक्री भएका छन्। ‘खुस्मा’ को सफलतापछि सोही टिमले निर्माण गरेको फिल्म भएकाले यसबाट राम्रो अपेक्षा गरिएको थियो । विषयवस्तुका हिसाबले सकारात्मक चर्चा पाए पनि त्यो चर्चा हलसम्म दर्शक तान्न पर्याप्त देखिएको छैन ।







