काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूसँगको बयान लिने काम सकिसकेको छ ।

अहिलेसम्म यस प्रकरणमा पक्राउ परेका १६ जनासँगको बयान लिने कार्य सकिएसँगै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी बुधबार अभियोजनपत्र दर्ता गर्ने तयारी गरेको हो । अभियोजनपत्र दर्ताअघि आरोपितसँगको बयान सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्ये एक भनिएका सानु भण्डारीले नै आफूलाई डा. इन्द्रजीत राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिएका छन्।

अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा भण्डारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका राईले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिएको तर काम नगरेको बताएका हुन् । यस्तै बयानमा भण्डारीले पटकपटक कसैलाई पनि अमेरिका पठाइदिने भन्दै कसैसँग कुरा नगरेको, कसैलाई रकम नदिएको तथा कसैसँग रकम नलिएको जिकिर गरेका हुन् ।