काठमाडौँ उपत्यका प्रहरी कार्यालयको घुमुवाको रूपमा कार्यरत एक जना प्रहरी हवलदार ‘घुस’ लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हवलदार धिरेन विष्ट छन् ।
लागुऔषध कारोबार गर्नेसँग उनले ४ लाख घुस लिएको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
तिनै विष्ट पाँच वर्षअघि हुन्डीको रकम लुटेको आरोपमा पक्राउ परेका थिए । २०७७ असारमा न्युरोडमा हुन्डीको १० लाख लुटेको आरोपमा पक्राउ पर्दा उनी जिल्ला प्रहरी परिसर काठमाडौँको घुमुवा थिए ।
अहिले उनी उपत्यकाको प्रहरीको सवैभन्दा माथिल्लो युनिट काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सादा पोसाकमा परिचालित प्रहरी कर्मचारी हुन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । हुन्डी कारोबारीसँग रकम लुटेको मुद्दामा सफाइ पाएर प्रहरी सेवामा फर्केका विष्ट फेरि कसरी सादा पोसाकको जिम्मेवारी खटिए भन्नेबारे प्रश्न उठेको छ ।
उपत्यका प्रहरी कार्यालयमा एआईजी टेकबहादुर तामाङ हुँदा उनले नै विष्टलाई सादा पोसाकमा खटिने ‘इन्टेलिजेन्स’को जिम्मेवारी दिएको उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू बताउँछन् ।








