‘गोप्य’ भ्रमण सकेर फर्किए चिनियाँ कम्युनिस्ट पार्टीका नेता, थप उच्चस्तरीय टोली पनि आउँदै ।

२१ फागुनका लागि निर्वाचनको सरगर्मी चलिरहेका वेला चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल ‘गोप्य’ रूपमा नेपाल आएर फर्केको छ । पार्टी मुख्यालय बेइजिङको अन्तर्राष्ट्रिय विभागमा नेपाल मामिला डेस्क हेर्ने निर्देशक झेङ युया (सरला) र उनका सहयोगी लिउ आइतबार सिचुआनको छेन्दु हुँदै बेइजिङ फर्केका छन् । बिहीबार काठमाडौं आएका उनीहरूले निर्वाचनअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने जानकारी नेताहरूलाई गराएका छन् ।

बिहीबार काठमाडौं आएलगत्तै उनीहरूले रास्वपा सभापति रवि लामिछाने र विदेश विभाग प्रमुख शिखिर खनालसँग भेटवार्ता गरेका थिए । त्यसपछि कांग्रेस सभापति गगनकुमार थापा र नेता डा. नारायण खड्का, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनी प्रधानमन्त्री हुँदाका परराष्ट्र सल्लाहकार डा. रूपक सापकोटा, एमाले नेता विष्णु रिमाल र विष्णु रिजाल, उज्यालो नेपाल पार्टी अध्यक्ष कुलमान घिसिङ र राप्रपा नेता सोभित उप्रेतीसँग बेग्लाबेग्लै भेट गरेका थिए ।

‘नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे अध्ययनका लागि उहाँहरू आउनुभएको रहेछ । अहिलेको परिवेश, चुनाव, चुनावपछिको अवस्थालगायतका बारेमा अनौपचारिक छलफल भयो,’ रास्वपा नेता खनालले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच सम्बन्ध विस्तारबारे पनि छलफल भयो । हामीले एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्‍यायौँ ।’ उनीहरूले चुनावमार्पmत नेपालको राजनीतिक संक्रमण पार हुने र स्थिरतातर्फ नेपाल अघि जाने विश्वास व्यक्त गरेका छन् । चुनावपछि जोसुकै सत्तामा आए पनि उनीहरूसँग मित्रवत् सहकार्य गर्ने चिनियाँ प्रतिनिधिको भनाइ थियो । नेपाली भाषा बोल्ने दुवै नेताले नेपालका सबै पक्षसँग सम्बन्ध राम्रो रहेको र चिनियाँ कम्युनिस्ट पार्टीले सबै राजनीतिक शक्तिहरूसँग सम्बन्ध सुदृढ गर्न चाहेको पनि बताएका थिए । रास्वपा नेता खनालले भने, ‘उहाँहरू राजनीतिक दलसँग संवादका लागि आउनुभएको रहेछ ।’

उनीहरूसँग भेटेका अर्का नेपाली नेताले भने, ‘चिनियाँ नेताहरूले झापा ५ मा चुनाव कसले जित्छ भन्नेमा चासो राख्नुभयो । समग्रमा पहिलो पार्टी को बन्ला र दलहरूको अवस्था के होला भन्ने पनि चासो राख्नुभयो । सबैले आफ्नो अनुकूलताअनुसारको जवाफ दिएको बुझ्यौँ ।’ उनीहरूले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाबारे पनि चासो राखेका थिए ।

चिनियाँ टोली यसपटक सन्देश दिनभन्दा यहाँको वस्तुस्थिति बुझ्न केन्द्रित रहेको भेटमा सहभागी नेताहरूले बताएका छन् । उनीहरूले एमाले अध्यक्ष केपी ओलीदेखि रास्वपा वरिष्ठ नेता बालेन शाह, कांग्रेस पूर्वसभापति शेरबहादुर देउवासम्मका बारेमा छलफल गरेका थिए । उनीहरूसँग भने चिनियाँ नेताले भेट गरेनन् । ‘हाम्रो उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउँछ, त्यसले सरकार र शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछ, हामी वस्तुस्थिति बुझ्न आएका छौँ, यहाँका बारेमा माथिल्लो तहमा रिपोर्टिङ गर्छौँ,’ चिनियाँ नेता युयालाई उद्धृत गर्दै उनीसँग भेटमा सहभागी नेताले भने ।