काठमाडौं : सन् २०२६ को जनवरीमा कोभिडअघिको भन्दा बढी पर्यटक नेपाल आएका छन्। सन् २०२६ को जनवरीमा ९२ हजार ५७३ पर्यटक हवाइमार्ग हुँदै नेपाल भित्रिएका छन्। सन् २०१९ को जनवरीमा भने ८१ हजार २७३ पर्यटक आएका थिए।

जेन–जी आन्दोलनपछि बनेको चुनावी म्यानडेट पाएको सरकार र अस्थिर राजनीतिका बाबजुद पर्यटक आगमनमा उत्साहजन वृद्धि देखिएको हो। कोभिड–१९ महामारीपूर्व सन् २०१९ को जनवरी महिनासँग तुलना गर्दा पनि यो संख्या १४ प्रतिशतले बढी रहेको पर्यटन बोर्डले जनाएको छ। यो संख्या सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो। समीक्षा महिनामा ७९ हजार ९९१ पर्यटक नेपाल घुम्न आएका थिए।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत भएको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवर्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण मानिएको छ। यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताए।

सन् २०२६ को पहिलो महिनाको तथ्यांक हेर्दा पर्यटक आगमनमा छिमेकी मुलुक भारत शीर्ष स्थानमा छ। जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २८.८ प्रतिशत हो। यता, स्थलमार्गबाट नेपाल भित्रिने भारतीय पर्यटकको एकिन तथ्यांक भने छैन।

बोर्डले सन् २०१८ मा गरेको अध्ययनअनुसार करिब १३ लाख भारतीय पर्यटक स्थलमार्गबाट नेपाल आएका छन्। यो, ठूला व्यवसायीक पर्यटक बस र प्राइभेट गाडीबाट नेपाल आएका र यहाँ १ रात बिताएकाको तथ्यांक हो। यसमा मोटरसाइकल, साइकल, ट्रकलगायतबाट नेपाल आएका भारतीय पर्यटको तथ्यांक गणना नगरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन्।

यस वर्ष पनि स्थलमार्गबाट नेपाल आउने पर्यटकको तथ्यांक संकलनका लागि भन्सार तथा भारतीय सीमामा रहेका अन्य निकायसँग समन्वयको तयारी भइरहेको जोशी बताउँछन्।

अर्को छिमेकी मुलुक चीनबाट ९ हजार १०१ (९.८ प्रतिशत), संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६ (९.१ प्रतिशत), बंगलादेशबाट ५ हजार ८१४ (६.३ प्रतिशत) र अस्ट्रेलियाबाट ४ हजार ९५७ (५.४ प्रतिशत) पर्यटक नेपाल भित्रिएका छन्। क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्।

त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ। मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ।

आसियान पर्यटन वर्षदेखि रणनीतिक योजनासम्म नेपालको पर्यटन क्षेत्र महामारीपछिको अवस्थामा पुनरुत्थानको क्रममा छ। बोर्डले आफ्नो २७औं स्थापना दिवसको अवसरमा ’नेपाल–आसियान पर्यटन वर्ष २०२६’ मनाउने औपचारिक घोषणा गरेको छ।

आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई आसियान लक्षित विशेष रणनीतिक योजना सार्वजनिक गरिएको छ। बोर्डका अनुसार सन् २०२५ मा १ लाख ७ हजारभन्दा बढी आसियान मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। ‘बौद्ध तथा आध्यात्मिक पर्यटन, प्रकृति र साहसिक पर्यटन, वेलनेस र आयुर्वेद, संस्कृति तथा समुदायमा आधारित पर्यटनमार्फत आसियान बजारमा नेपाललाई सशक्त रूपमा स्थापित गरिनेछ,’ बोर्डको भनाए छ।

बोर्डले सन् २०२६ लाई परिभाषित गर्ने ७ प्रमुख यात्रा प्रवृत्ति पनि सार्वजनिक गरेको छ। यसमा सोरभन्दा शान्ति, प्रशासनमा जेन–एआई, छनोटभन्दा विश्वास, हवाईमार्गभन्दा सडक, एकै ढाँचाभन्दा अत्यधिक व्यक्तिगत अनुभव, परीक्षण गरिएकाभन्दा अफ–ग्रिड गन्तव्य र संस्कृति प्राथमिकतामारहने उल्लेख छ।

२०२६–२०३५ रणनीतिक कार्ययोजना, सहभागितामूलक दृष्टिकोण, डिजिटल–प्रेरित व्यावसायिकता, नवप्रवर्तनशील नीति र अभ्यासको समन्वय, स्थानीय र वैश्विक अनुभवको मिश्रण, अनुत्पादक कार्यक्रम हटाउने तथा उच्च मूल्य पर्यटनमा केन्द्रित हुने बोर्डको भनाइ छ। यसै क्रममा बोर्डले गत भदौमा टिकटकसँग सहकार्य गर्दै पर्यटक प्रवर्धनको नयाँ रणनीति लिएको थियो।