काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री सुशीला कार्कीले सभामा दिएको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन्। उनीहरूले प्रधानमन्त्रीको भाषणमा कुनै ठोस योजना वा नयाँ कुरा नआएको टिप्पणी गरे। सांसदहरूका अनुसार प्रधानमन्त्रीले आफ्नो कार्यकालको सङ्कटपूर्ण अवस्था र निर्वाचन व्यवस्थापनका चुनौतीबारे मात्र जानकारी गराइन्।
राष्ट्रिय सभाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री आफैँ र अन्य मन्त्रीहरू पनि जेन–जी समूहको दबाबमा रहेको कुरा सम्बोधनमा झल्किएको बताइन्। उनले प्रधानमन्त्रीले मन्त्रीहरू चुनाव लड्न जानुलाई स्वतन्त्रताको रूपमा व्याख्या गरे पनि भ्रष्टाचार नियन्त्रण र निर्वाचनका विषयमा कुनै नयाँ र ठोस कुरा नसुनाएको उल्लेख गरिन्।
त्यस्तै, सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले सङ्कटकालीन अवस्थामा जिम्मेवारी सम्हालेको र सम्बोधनका क्रममा आफ्ना पीडाहरू व्यक्त गरेको महसुस भएको बताइन्। प्रधानमन्त्रीको कार्यकाल छोटो रहेको र उनी नेतृत्वको मन्त्रिमण्डल मुख्य रूपमा निर्वाचन गराउनकै लागि बनेकाले एक प्रकारले उनी सफल भएको सापकोटाको भनाइ थियो।
अर्की सांसद विष्णुदेवी पुडासैनीले भने प्रधानमन्त्रीको सम्बोधनले केही ऊर्जा प्रदान गरे पनि मन्त्रीहरूको अचानकको बहिर्गमनलाई उनले सहज रूपमा लिनु गम्भीर विषय भएको टिप्पणी गरिन्। निर्वाचन गराउने मुख्य जिम्मेवारी भएका मन्त्रीहरू नै पद छाडेर हिँड्दा त्यसले पार्ने असरलाई प्रधानमन्त्रीले “केही होइन” भन्नु आफूहरूलाई असहज लागेको पुडासैनीले बताइन्।
यी प्रतिक्रियाहरूले प्रधानमन्त्रीको छोटो कार्यकाल, निर्वाचन व्यवस्थापन र आन्तरिक दबाबका विषयमा राष्ट्रिय सभा सदस्यहरूको फरक-फरक धारणा झल्काएका छन्। बैठकमा कुनै नयाँ ठोस निर्णय वा घोषणा नआए पनि सांसदहरूले प्रधानमन्त्रीले निर्वाचन गराउन गरेको प्रयासलाई भने समग्रमा सकारात्मक रूपमा लिएका देखिन्छन्।
मन्त्रीहरूले चुनावी मैदानमा जान पद त्याग गरेपछि सरकारको कार्यक्षमतामा प्रश्न उठिरहेका बेला सांसदहरूले दिएको यो प्रतिक्रियालाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।






