काठमाडौं । सोमबार भारतको दिल्लीमा एआई इम्प्याक्ट समिट २०२६ को सुरुआत हुँदै छ । नयाँ दिल्लीमा यो समिट फेब्रुअरी १६ देखि २० सम्म पाँच दिनसम्म चल्नेछ । यसलाई एआईसँग सम्बन्धित संसारकै ठूलो कार्यक्रम मानिएको छ ।
समिटमा विश्वका नेता, कम्पनीका अधिकारी, विशेषज्ञहरू भेला भइरहेका छन् । भारतले यो समिटमार्फत ग्लोबल साउथको तर्फबाट एआईको भविष्यमा आफ्नो बलियो आवाज राख्न चाहेको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार समिटको उद्घाटन गर्नेछन् भने सीईओ राउन्डटेबललाई पनि सम्बोधन गर्ने र एक डिनरको आयोजना पनि गर्नेछन् । १०० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुने समिटमा १५–२० देशका राष्ट्राध्यक्ष, ५० भन्दा बढी मन्त्री तथा ४० भन्दा बढी सीईओहरू सहभागी हुनेछन् । गुगलका सुन्दर पिचाई, ओपनएआईका स्याम अल्टम्यान, एन्थ्रोपिकका डेरियो अमोडी, माइक्रोसफ्टका ब्र्याड स्मिथ, एडोबका शान्तनु नारायणलगायत सहभागी छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा जस्ता नेताहरू पनि सहभागी हुँदै छन् ।
चीनको टोली पनि सहभागी भएको छ । तर, एनभिडियाका सीईओ जेन्सेन हुआङ भने सहभागी हुने छैनन् । समिटमा ५०० भन्दा बढी एआई स्टार्टअपहरूले आफ्ना परियोजना प्रदर्शन गर्नेछन् । ५०० भन्दा बढी सत्रहरू आयोजना हुनेछन् ।
आर्टिफिसियल इन्टेलिजेन्स अत्यन्त तीव्र गतिमा विकास भइरहेको छ । यसले धेरै गम्भीर प्रश्नहरू उठाएको छ । जसमा एआईले रोजगारी घटाउने हो वा नयाँ रोजगारी सिर्जना गर्ला, भारतको आईटी क्षेत्र एआई युगका लागि तयार छ वा छैन, भारतले च्याटजीपीटी जस्ता लार्ज ल्याङ्ग्वेज मोडलहरू आफैँ विकास गर्नुपर्छ कि कृषि, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा लक्षित विशेष एआई उपकरणहरूमा केन्द्रित हुनुपछ भन्ने जस्ता विषय छन् । एआईसम्बन्धी यस्ता प्रश्नहरू विश्वभर छलफलमा छन् । अब यही बहस भारतमा पनि केन्द्रित भएको छ । भारतले एआई केवल ठूला र विकसित देशहरूको खेल बन्नु नहुने र सबै देशहरूका लागि लाभदायक हुनुपर्ने बताउँछ ।
पछिल्ला वर्षहरूमा एआईसम्बन्धी धेरै समिटहरू आयोजना भएका छन् । सन् २०२३ मा बेलायतको ब्लेटचली पार्कमा एआई सेफ्टी समिट सम्पन्न भयो । त्यहाँ २८ देशहरूले एआईका जोखिमसम्बन्धी ब्लेटचली घोषणापत्रमा हस्ताक्षर गरे । सन् २०२४ मा सियोलमा समिट भयो, जसमा नवप्रवर्तन र समावेशितामा जोड दिइयो । सन् २०२५ मा पेरिसमा एआई एक्सन समिट भयो, जसको सह–अध्यक्षता प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए, जहाँ आर्थिक फाइदाहरूमा बढी जोड दिइएको थियो ।
भारतका इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि सचिव एस. कृष्णनका अनुसार समिटको मुख्य फोकस ‘पीपल, प्लानेट र प्रोग्रेस’ मा छ । अर्थात् एआई यस्तो हुनुपर्छ, जसले आम मानिसका समस्या समाधान गरोस्, वातावरणलाई हानि नपुर्याओस् र दीर्घकालीन प्रगति सुनिश्चित गरोस् ।
इन्डियाएआई मिशनका सीईओ अभिषेक सिंहले भनेका छन्, “अहिले एआई केही थोरै देशहरूमा मात्र विकास हुन्छ र बाँकी विश्वले केवल प्रयोग गर्छ । यदि डाटा सबैलाई समावेश नगरेमा एआईमा पूर्वाग्रह आउन सक्छ । त्यसैले यो समिटमा एआईलाई लोकतान्त्रिक बनाउनेमा जोड दिइएको छ । डाटासेट, कम्प्युट, मोडल र एप्लिकेसन सबैका लागि उपलब्ध हुनुपर्छ ।”
समिटका क्रममा सरवम एआई र भारतजेनका सोभरेन एआई मोडलहरू भारतमा विकास भएका केही ठूला तथा साना ल्याङ्ग्वेज मोडलहरू सार्वजनिक हुन सक्छन् । डाटा सेन्टर विस्तारसम्बन्धी केही महत्त्वपूर्ण घोषणाहरू हुने सम्भावना छ । काम, ट्रस्ट र सेफ्टी, तथा विभिन्न उद्योगहरूमा एआईको प्रयोगबारे समूहगत छलफलहरू हुनेछ ।
समिटको अन्त्यमा फेब्रुअरी २० मा एक घोषणापत्र जारी हुने अपेक्षा छ । यसमा बाध्यकारी नियमहरूभन्दा पनि दीर्घकालीन एआई नवप्रवर्तन र गभर्नेन्ससम्बन्धी सुझावहरू समावेश हुनेछन् ।








