काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन् । आफू चितवन–३ मा केन्द्रित भएको भन्ने भनाइ गलत रहेको उल्लेख गरे । प्रचण्डले निर्वाचन प्रक्रिया सुरु भएदेखि आफू चितवन–३ मा नगएको स्पष्ट पारे ।

चितवन–३ सँग आफूलाई अहिले जोड्नु भनेको आफू र नेकपाबाट चितवन निर्वाचन क्षेत्र नम्बर ३ की उमेदवार रेणु दाहालमाथि अन्याय हुने जिकिर गरे । उनले आफूले कुनै वक्तव्य वा अन्तर्वार्ता नदिए पनि त्यहाँ स्वाभाविक रूपमा बहस चलिरहेको बताए । रेणुले विगत ९ वर्षमा गरेको काम नै उनको प्रचारको मुख्य आधार भएको प्रचण्डको भनाइ छ ।

“नेपाली कम्युनिस्ट पार्टीको संयोजक चितवन ३ मा केन्द्रित भयो भन्नेकुरा बिल्कुल गलत हो । म निर्वाचन प्रक्रिया सुरु भएदेखि चितवन ३ मा गएको पनि छैन । मैले वक्तव्य दिएर ल रेणुलाई जिताउन पर्‍यो पनि भनेको छैन । रेणु आफ्नै कर्मले, आफ्नै कामले स्थापित छिन्, परिचित छिन्,” प्रचण्डले भने ।

प्रचण्डले छोरी रेणुको राजनीतिक सफलतामा आफ्नो प्रत्यक्ष हस्तक्षेप नरहेको र उनी आफ्नै कार्यसम्पादनका आधारमा अघि बढिरहेको बताए ।