बाजुराको बेतालमाडौँ–डेल्टा सडकखण्डअन्तर्गत बार्जुगाड खोलामा १० वर्ष लगाएर निर्माण गरिएको पक्की पुल अझै सञ्चालनमा आउन सकेको छैन । पुल निर्माण सम्पन्न भएको महिनौँ बितिसक्दा पनि सडकको दयनीय अवस्था र निर्माण ढिलाइका कारण देखिएको आर्थिक विवादले पुल हस्तान्तरण प्रक्रिया रोकिएको छ । यसले पुलबाट यातायात सेवा सहज हुने आशामा रहेका स्थानीयवासीलाई निराश बनाएको छ ।
खप्तड छेडेदह गाउँपालिका–३ र बूढीगङ्गा नगरपालिका–४ को सीमामा पर्ने बार्जुगाड खोलामा पुल नहुँदा स्थानीयवासीले वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो । विद्यार्थी, बिरामी तथा दैनिक कामकाजका लागि आवतजावत गर्ने नागरिकलाई पुल बनेपछि सहज हुने आशा थियो । तर, पुल निर्माण भए पनि सवारीसाधन सञ्चालन हुन नसक्दा स्थानीयले पुरानै समस्या भोग्नुपरिरहेको छ ।








