नेपालगन्ज। औषधि व्यवस्था विभाग, नेपालगन्जले चालु आर्थिक वर्षका आठ महिनामा १६ औषधि पसल निलम्बन गरेको छ। निलम्बनमा परेका ११ पसल बाँके र पाँच पसल कैलाली जिल्लाका रहेका छन्।

विभागका सूचना अधिकारी दीपा पौडेलका अनुसार अनुगमनमा व्यवसायी अनुपस्थित हुनु, बिना दर्ता पसल सञ्चालन, म्याद नाघेका औषधि फेला पर्नु जस्ता कारणले ती पसल निलम्बनमा परेका हुन्।

अनुगमनपछि १४ मुद्दा अदालतमा दर्ता गरिएको छ। फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेका अनुसार बिनाइजाजत औषधि पसल सञ्चालन, दर्ता नभएका औषधि बिक्री, अवैध आयात र औषधिको दुरुपयोग सम्बन्धी मुद्दा दर्ता गरिएको हो।

उक्त अवधिमा शाखाले नागरिक र स्थानीय प्रशासनबाट प्राप्त उजुरीको फछ्र्यौट गरिसकेको छ। साथै, बजार अनुगमनमा संकलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौँ पठाइएको छ।

विभागले फागुनसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २५ जिल्लाका ४४१ औषधि पसल अनुगमन गरेको थियो। नेपालगन्ज शाखामा प्राविधिक र अप्राविधिक गरी आठ जनाको दरबन्दी रहेको छ।