काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा विपद्का घटनामा परी चारजनाले ज्यान गुमाएका छन् । साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् ।
चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना भएका छन् । यी घटनामा परी चारजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट दुईजना, सर्पदंशबाट एकजना र चट्याङ लागेर एकजना रहेका छन् ।
यो अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ ।
यस वर्ष हालसम्मका मुख्य विपद् र क्षति (वैशाख १ देखि चैत ३ सम्म)
प्राधिकरणको तथ्यांकअनुसार ०८२ वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९५१ वटा विपद्का घटना भएका छन् । यी घटनाहरूमा परी हालसम्म ४७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता छन् । त्यस्तै, १ हजार ८४६ जना घाइते भएका छन् भने १२ हजार ६५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
यस वर्ष आगलागीका घटनामा परी १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
मौसम तथा तापक्रमको अवस्था
पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा वर्षा भएको छ । प्राधिकरणकाअनुसार ३३४ वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ । सबैभन्दा बढी वर्षा धनकुटा जिल्लाको मुलघाट केन्द्रमा ३५.० मिलिमिटर मापन गरिएको छ ।
तापक्रमतर्फ, देशकै सबैभन्दा बढी गर्मी रुपन्देहीको भैरहवामा महशुस गरिएको छ, जहाँको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी, सबैभन्दा चिसो मनाङको हुम्देमा रेकर्ड गरिएको छ, जहाँको न्युनतम तापक्रम माइनस ८.५ (–८.५) डिग्री सेल्सियस मापन गरिएको छ ।








