काठमाडौं ।
भदौ २४ गते देशका विभिन्न महत्वपूर्ण संरचनामा भएको आगजनी तथा तोडफोडका घटनाहरू सुनियोजित र समन्वयात्मक ढंगले भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। संघीय संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवनजस्ता ‘भाइटल इन्स्टलेसन’ मा विशेष प्रकारका प्रज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाइएको पाइएको छ।
अनुसन्धानमा संलग्न निकायका अनुसार केही स्थानहरूमा कागजात भएको ठाउँ लक्षित गरी आगजनी गरिएको छ भने सरकारी कार्यालयहरूमा आक्रमण गर्दा पहिले सिसिटिभी प्रणाली नष्ट गर्ने, पानीका ट्यांकी खाली गर्ने, डाटा सेन्टर तथा कम्प्युटर प्रणालीमा क्षति पुर्याउने र त्यसपछि कागजात जलाउने तथा लुटपाट गर्ने कार्यशैली देखिएको छ।
यस्तै, केही स्थानमा सिलिन्डर विस्फोट गराएर वा पेट्रोल प्रयोग गरी भवनभित्रै आगो लगाइएको पाइएको छ। सिंहदरबार परिसरभित्र रहेका मन्त्रालयहरूमा फायर एक्स्टिङ्गुइशरको केमिकल समेत प्रयोग गरिएको देखिएको छ भने पार्किङ क्षेत्रमा रहेका सवारी साधनहरूमा पनि आगजनी गरिएको थियो।
सर्वोच्च अदालत, राष्ट्रपति भवन (शीतल निवास), विभिन्न व्यापारिक भवन, भाटभटेनी स्टोर, कान्तिपुर पब्लिकेसन, हायात लगायतका होटलहरूमा समेत पेट्रोल बम (मोलोटोभ ककटेल) जस्ता अत्यन्त ज्वलनशील पदार्थ प्रयोग भएको उल्लेख गरिएको छ। केही स्थानमा लुटपाटका क्रममा आगजनी हुँदा मानिसहरू बाहिर निस्कन नसकी जलेर मृत्यु भएको घटनासमेत देखिएको छ।
अनुसन्धानका लागि सिसिटिभी फुटेज महत्वपूर्ण हुन सक्ने भए पनि अधिकांश सरकारी कार्यालयहरूमा अभिलेख प्रणाली नष्ट गरिएको वा जलाइएकोले प्रमाण संकलनमा कठिनाइ भइरहेको छ। हालसम्म संलग्न व्यक्तिहरूको स्पष्ट पहिचान गरी अभियोजन गर्न पुग्ने ठोस प्रमाण संकलन हुन सकेको छैन।
यद्यपि, घटनास्थल आसपासका टेलिफोन टावरबाट प्राप्त बीटीएस डाटाका आधारमा घटनाको समयमा त्यहाँ उपस्थित मोबाइल नम्बरहरूको विवरण संकलन गरिएको छ। नेपाल टेलिकम र एनसेलबाट प्राप्त कच्चा डाटाको अध्ययन गरी शंकास्पद व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ।
सरकारले अब विज्ञसहितको विशेष अनुसन्धान टोली गठन गरी सिसिटिभी फुटेज, सामाजिक सञ्जाल, पीडितका भिडियो तथा अन्य स्रोतबाट प्राप्त प्रमाणहरू एकीकृत गर्दै दोषी पहिचान र कारबाही प्रक्रिया तीव्र पार्ने तयारी गरेको जनाएको छ।








