काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनकाक्रममा सहिद भएका परिवारलाई रोजगारी दिने भएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित शहीदका परिवारलाई सम्पर्कमा आउन आग्रह गर्दै सूचना जारी गरेको हो ।
प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ– भाद्र २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को बुँदा नं.११ मा शहीद परिवारका सदस्यलाई रोजगारी सम्बन्धी व्यवस्था मिलाउने भन्ने व्यहोराका सम्बन्धमा नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मिति २०८२/०९/२० को पत्रसाथ तपसिलका व्यक्तिहरूले रोजगारीको लागि पेश गरेको निवेदन प्राधिकरणलाई प्राप्त भएको हुँदा शहीदका परिवारले प्राप्त गर्ने सुविधामा निजहरू बाहेक अरू कसैको हकदाबी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल विद्युत् प्राधिकरण काठमाडौंमा निस्सा प्रमाण सहित सम्पर्क राख्नुहुन सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
प्राधिकरणले कतिपय निवेदकले शहीदसँगको नाता खुल्ने प्रमाण पेश नगरेको वा अपूर्ण कागजात दिएको पाइएको जनाएको छ । जसले गर्दा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंस्थित केन्द्रीय कर्मचारी प्रशासन शाखामा सम्पर्क गरी प्रमाणित कागजात बुझाउन आग्रह गरिएको छ।
सूचनामा विभिन्न जिल्लाबाट निवेदन दिएका व्यक्तिहरूको नामावली समेत सार्वजनिक गरिएको छ । जसमा गोरखा, सुनसरी, सप्तरी, चितवन, कैलाली, झापा, कैलाली, बाजुरा, उदयपुर, काठमाडौं लगायतका जिल्लाका आवेदकहरू रहेका छन् ।







