नारायणी नदी किनारस्थित प्रदर्शनी चौरमा आगामी मङ्सिर २ गतेदेखि १७ गतेसम्म दोस्रो नारायणी महोत्सव आयोजना हुने भएको छ।
रेडरक को प्रमुख आयोजनामा तथा आदिवासी जनजाति महासङ्घ चितवनको सहआयोजनामा महोत्सव हुन लागेको हो। महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष एवं महोत्सव संयोजक विकल क्षेत्रीले तयारीबारे जानकारी गराएका हुन्।
गत महिना आएको बाढीले क्षतविक्षत बनाएको प्रदर्शनी चौरलाई सम्याएर महोत्सव सञ्चालन गर्न लागिएको संयोजक क्षेत्रीले बताए। बाढीका कारण प्रभावित बनेको प्रदर्शनी स्थललाई पुनः व्यवस्थित गर्दै महोत्सवका लागि आवश्यक तयारी अघि बढाइएको आयोजकको भनाइ छ।
नारायणी नदी किनार चितवनको प्रमुख मेला–महोत्सव स्थल तथा आन्तरिक पर्यटकको आकर्षणको केन्द्रका रूपमा परिचित छ। यही पर्यटकीय सम्भावनालाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवमा करिब पाँच करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ।
त्यसैगरी, महोत्सव अवधिभर करिब दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको संयोजक क्षेत्रीले जानकारी दिए। महोत्सवले स्थानीय व्यापार, व्यवसाय, उत्पादन तथा पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
बाढीबाट प्रभावित प्रदर्शनी चौरलाई पुनः चलायमान बनाउँदै नारायणी नदी किनारको आर्थिक तथा पर्यटकीय गतिविधि बढाउन पनि महोत्सवले भूमिका खेल्ने आयोजकको विश्वास छ।








