काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलले विकसित राजनीतिक घटनाक्रमका कारण कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासन सचेत रहेको बताएका छन् ।

आइतबार अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेले बुझाएको ज्ञाापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू राजनीतिक विषयमा प्रवेश नगर्ने तर, हिंसात्मक र अशान्ति फैल्याउने गतिविधि रोक्ने कुरामा सचेत भएर लागिरहेको बताए ।

आफूहरूलाई सरकारले दिने जुनसुकै जिम्मेवारी प्रशासनिक र पेशागत भावअनुसार निर्वाह गर्ने उनको भनाइ छ । उनले शनिबार फिल्डमा भएको गतिविधिबारे राम्रोसँग अध्ययन गरेको भन्दै अराजनीतिक र गैरकानुनी क्रियाकलाप गर्नेलाई कानुनी कारबाही गरिने बताए ।

यस्तो छ सीडीओ पौडेलको भनाइ छ :

कुनै पनि अप्रिय घटना नघटोस् भनेर हामी एकदमै चनाखो छौँ । हामी यहाँहरूलाई पनि यही अनुरोध गर्छौं । यो बीचमा हामीले जुन खालको हिंसा देख्यौँ त्यो अवस्थाबाट अब स्थीरतातर्फ जाँदै गर्दा केही राजनीतिक घटनाक्रम विकसित भएका छन् । यस अवस्थामा यो एआईको जमानामा मिडियामा छुट्टै ढंगले पनि जानसक्छ । यसतर्फ सचेत हुन पनि हामी अनुरोध गर्न चाहान्छौँ । हामी राजनीतिक विषयमा प्रवेश गर्दैनौँ । हामी हाम्रो प्रशासनिक पेशागत भावअनुसार अगाडि बढ्छौँ । हिजोको घटनामा केही झडपहरू भएका छन् । हाम्रोतर्फत सबै क्षेत्रमा के भइरहेको छ भने फिल्डबाट हामी आएका हौँ । हामी सुरक्षाकर्मीहरूलाई पनि आफ्नो कर्तव्य संयमित भएर निर्वाह गर्न भनेका छौँ । केही हर्कतहरू हिजो भएका छन् । ती सबैलाई कानुनी दायरमा ल्याउँछौँ ।