राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले व्यहोर्नुपरेको सम्भावित आर्थिक तथा कृषि क्षतिको समेत विस्तृत हिसावकिताव गर्नुपर्ने बताउनुभएको छ । संसदको सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्ध गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजश्वमा भएको नोक्शानीको मात्र हिसाव गरेर नपुग्ने बताउनु भयो । आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र अवसरको समेत मूल्यांकन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति खेती प्रभावित भयो, कति सिजन सिंचाई हुन सकेन र त्यसबाट किसानले कति अवसर गुमाए भन्ने विषयमा प्रश्न उठाउनु भयो । झाले सुनकोशी–मरिण आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र त्यसबाट कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको समेत अध्ययन हुनुपर्ने बताउनुभएको छ ।