कृषि, वन तथा पर्यावरण गीता चौधरीले स्वदेशी फूलको प्रवद्र्धन र नर्सरी व्यवसायको विकासमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को उद्घाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवद्र्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिनुभयो । तिहार नेपाली समाजको उज्यालो, रङ र फूलसँग जोडिएको सांस्कृतिक पर्व भएकाले यस अवसरमा स्वदेशी फूल तथा बिरुवाको प्रदर्शनी आयोजना हुनु सान्दर्भिक रहेको उहाँको भनाई छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पु¥याउने र नेपाली फूलको बजार विस्तार गर्ने माध्यमका रूपमा एक्स्पोले भुमिका खेल्ने उहाँले बताउनु भयो । मन्त्री चौधरीले नर्सरी व्यवसायलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा जलवायु परिवर्तनको असर न्युनिकरणसँग जोड्नुपर्ने बताउनु भयो । यस क्षेत्रले युवा तथा महिलाका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सक्ने उहाँले उल्लेख गर्नुभयो । नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको उहाँले जानकारी पनि दिनुभयो । उहाँले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणमा प्राथमिकता दिन व्यवसायीलाई आग्रह गर्नुभयो ।