अभिनेता तथा निर्माता दीपकराज गिरी यतिबेला आफ्नो फिल्म ‘छ माया छपक्कै २’ का कारण चर्चामा छन् । यसैबीच, दण्शैँमा प्रदर्शनमा आएको फिल्मले अपेक्षाअनुसार व्यापार गर्न नसकेपछि दीपकराजले पहिलो पटक खुलेर आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले फिल्मको असफलतालाई स्वीकार्दै त्यसको जिम्मेवारीसमेत आफैँले लिने बताएका छन् ।

सामाजिक सञ्जालमा ‘यो पालिको दशैँ तथा हाम्रो चलचित्र’ शीर्षकमा लामो स्टाटस लेख्दै दीपकराजले फिल्मको व्यापारिक नतिजालाई चुनावी मतगणनासँग तुलना गरेका छन् । उनका अनुसार मत गणनामा चार हजार मतले पछि परिसकेपछि एउटा मतपेटिका गन्न बाँकी छ भन्दै आशावादी हुनुको कुनै अर्थ छैन । त्यसैले हारलाई हारकै रूपमा स्वीकार गर्न सक्नु पर्ने उनको भनाइ छ ।