माता जानकी जन्मस्थल जनकपुरधाम र भगवान् श्रीराम जन्मस्थल अयोध्यालाई सीधा रेल सञ्जालमार्फत जोड्ने साप्ताहिक सेवाको सुरुवातसँगै नेपाल–भारत सीमापार कनेक्टिभिटी र धार्मिक पर्यटनमा नयाँ अध्याय थपिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेपछि मंगलबार एउटा रेल जनकपुर आइपुगेको छ। लामो समयदेखि चर्चामा रहेको रामायण सर्किटलाई भौतिक र व्यावहारिक रूप दिने दिशामा यो कदमलाई अर्थपूर्ण सुरुवातका रूपमा हेरिएको छ।
यो रेल सेवाको सबैभन्दा बलियो पक्ष नै रामायणसँग जोडिएका दुई ऐतिहासिक र धार्मिक केन्द्रबीचको सीधा सम्पर्क हो। यसले धार्मिक पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास गरिएको छ। तीर्थयात्री र पर्यटक मात्र होइन, सीमापारि अध्ययन गर्ने विद्यार्थी, साना–ठूला व्यवसायी तथा आफन्त भेटघाटका लागि आवतजावत गर्ने सर्वसाधारणलाई समेत यसले सहज र भरपर्दो विकल्प दिनेछ।







