प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि अन्तरिम आदेशका लागि भएको बहसमा उनका तर्फबाट कानुन व्यवसायीहरूले सरकारको निर्णय कानुन विपरीत रहेको भन्दै बदर गर्न माग गरेका छन् ।
बहसको सुरुवात गर्दै अधिवक्ता टीकाबहादुर कुँवरले कार्यकाल १८ महिना बाँकी रहँदै सरकारले नियोजित रूपमा कार्कीलाई पदबाट हटाएको जिकिर गरे । कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चका अदालतका न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा अधिवक्ता कुँवरले बहसका क्रममा उक्त जिकिर गरेका हुन् । कार्कीलाई हटाउँदा प्रहरी ऐनको पालना नभएको र सहमतिबिना नै अर्को पदमा खटाइएको उनको भनाइ थियो ।







